Stories

Fiction & Experience
  • यात्रा कथा


    'ग्रीन हाउस होटेल, लालगढ' लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन | यो केटोले महिला शौचालय किन खोज्यो भनेर मेरो नियत माथी संका गर्नुहोला फेरी, मेरो पछि पछि मेरी महिला साथी थिइन् उनको लागि पनि शौचालय पहिलो आवश्यकता थियो त्यतिखेर | एकछिन् उनलाई वरै उभ्भिन लगाएर मैले यसो नजर घुमाएपछि ढोका बन्द गर्न मिल्ने दुई कोठे शौचालय फेला पारें तर त्यहाँ पुग्न केटाहरुको पम्पिसेट लाइन हुदै जानु पर्थ्यो | हेर्दिन भन्दा पनि त्यो दृश्य देखिन्थ्यो | अवस्था देख्दा सारै रिष उठ्यो तर यात्रामा यस्तै हो | सधैलाई होइन भनेर चित्त बुझाएँ अनि मेरी महिला साथीलाई ती केटाहरुको माझबाट स्कर्टिंग गराएर बन्दकोठे शौचालय सम्म पुर्याएँ अनि आफु पनि लागेँ भित्ता तिर | लौ अब ढुक्क भयो | भुँडी-भण्डार खालि गर्दाको आनन्द त मैले बखान गरिरहनै नपर्ला | हाम्रो शरीर एउटा फिल्टर मात्र हो जस्तो लाग्छ कहिले काहिँ मलाई | माथिबाट भर्यो तल बाट खालि हुन्छ, निरन्तर | फरक यत्ति हो फिल्टरबाट चुहिने पानी सफा र पवित्र मानिन्छ तर सरीर बाट चुहिने अपवित्र |

    अब फिल्टर खालि भएपछि भर्नु पनि त पर्यो | मेरी साथीले भात नखाने निर्णय सुनाईन् | मलाई जस्तै भए पनि भात नभई नहुने, भाते म | नाम मात्रको भए पनि मलाई नेपाली खाना चाहिन्छ | यात्रामा बाटामा खुवाइने खाना अत्यन्त तल्ल्लो स्तरको हुन्छ भन्ने जान्दा जान्दै म त्यहि खान भातघरमा छिरेँ | मेरी साथी चाउचाउ अन्डा खाना भन्दै नजिकै रहेको भातघर बाहिरको एउटा पसलमा छिरिन् | खानाको भाउ नसोधीकन खाना खान बसेँ | छरपष्ट घिनलाग्दो देखिने खाना र केहि नाम मात्रका तरकारी र अचार हालेको एउटा ठुलो थाल ल्याएर एउटा केटोले मेरो अगाडी टेबलमा फ्याकेर हिड्यो | निरिह कुकुर जस्तो फ्याकेको खाना टिप्नु सिवाय अरु उपाय थिएन त्यहाँ | केटो फेरी आयो र एउटा कचौरो राखेर हिडिसकेको थियो, मैले सोधिहालेँ "के हो यो?" "मासु" उसले उत्तर दियो | यसो कचौरामा हेरेँ | नबास्ने कुखुराका केहि खिन्लाग्दा अंगहरु त्यसैको झोलमा उत्रिरहेका थिए | खाने खालको मासु त्यसमा थिएन | 'म खान्न' भन्छु भनेर केटो तिर हेरेँ, केटो त हिडिसकेछ | छेउको टेबलमा गाडीका स्टाफहरु बसेका रहेछन् | "खाना कस्तो छ?" तिनै मध्ये एउटाले मलाई सोध्यो | मलाई ठुलो आवाजमा हाँस्न मन लागेको थियो तर हासिन | "यस्तो पनि मासु हुन्छ?" मैले भने | "बाहिर हिड्दा बाटामा मासुसासु खाने नै होइन नी तपाइलाई थाहै रै'नछ" उसले भन्यो | मैले उसका भाग तिर हेरेँ, ऊ फ्राईड चिकेन खादै थियो | रिसाउनु व्यर्थ थियो म फेरी हासिदिएँ | कचौरा आफ्नु भागबाट अलि पर सारिदिएँ अनि भागमा जे थियो (राम्रो सँग हेर्दा पनि नहेरी) छिटो छिटो खाएँ |

    काउन्टरको टेबल माथी बसेर होटल साहु पैसा उठाउदै रहेछ |
    "कति हो दाई?"

    "एक सय नब्बे |"

    "एकसय नब्बे?"

    "सादाखाना हो की मासुखाना?"

    "सादा |"

    "एकसय तिस दिनुस् |"

    "अनि अगी किन एक सय नब्बे भनेको त? मान्छेलाई त्यसै तर्साउने?"

    "मासुखाना हो की भनेर नी |"

    "तेरो बाउ! साला, पहिल्यै सादाखाना हो की मासुखाना हो सोध्न सक्दैन थिईस्" भन्न मन लागेको थियो | "यहाँ यस्तै हो, दिनेले दिहाल्छ" भन्ठानेर चुप लागेर पैसो दिएर बाहिर निस्किएँ |

    बाहिर साथी पसलवाला सँग झगडा गर्दै रहिछन् |
    "के भयो र?" मैले मेरी साथीलाई सोधेँ | "घिनलाग्दो चाउचाउ, कसरी खानु यस्तो?" उनले एकैपटक रिस र घिन मान्दै भनिन | "बाटामा हिड्दा यस्तै हो घरमा गएर मिठो खाउँला" मैले भने | फेरी उनले भनिन, "मलाई त उल्टी आउला जस्तो भयो, खान सक्दिन यो त" |
    "के खान्छौ त?" मैले सोधेँ | "बरु एउटा अन्डा खानु पर्यो | त्यो त उसिन्ने मात्र हो नी यिनीहरुले, बनाउने त कुखुराले हो" उनले भनिन | म मुस्कुराएँ |

    "भाई अन्डा देउ त एउटा, कति हो एउटाको?"

    अन्डा दिदै "बीस रुपियाँ"

    "आम्मामा बीस रुपीयाँ? तिमीहरु त लुट्नै बसेका र'छौ नी? एउटा अन्डाको आठ रुपीयाँ पर्छ | उसिनेको मात्रै बाह्र रुपियाँ लिने? भाई अलि अलि पो नाफा खानु त हो |" आफु भन्दा सानु देखेकोले र उसका मान्छेहरु वरपर नदेखेकोले मलाई अलिकति आँट आयो र भनिहाँले |

    "लुट्न बसेको, भन्न सजिलो छ दाजु | हाम्रो समस्या कस्ले बुझ्छ?"

    लौ के चै समस्या र'छ त ? म पनि उत्सुक मान्छे फेरी उसले पनि 'दाजु' आदरार्थी लगाएर सम्मान पुर्वक दुख पोखेकाले सोधिहालौँ न त भन्ने मन मा आयो |

    "के छ र भाई त्यस्तो समस्या?"

    "एउटा गाडीलाई महिनाको पन्ध्रसय रुपियाँ दिनु पर्छ | यहाँ तेईस वटा गाडी आउछन् | अनि महँगो नबेचे कसरी टिक्ने यहाँ?"

    "अनि गाडीले यति जना मान्छे ल्याउनु पर्ने भन्ने छ?" मैले अरु उत्सुकता देखाएँ |

    "गाडी खालि आवस वा भरि केहि मतलव हुदैन, पुरा पैसा दिनु पर्छ"

    "अनि त्यो होटेलवालाले पनि पैसा दिन्छ?"

    "दिन्छ | एउटा गाडीलाई दिनको हजार रुपियाँ दिन्छ"

    लौ देशको संस्कार यहाँ पनि राम्रै सँग बसेको रहेछ | आफ्नु देशको संस्कार तोड्नु त राष्ट्रियता छोड्नु बराबर हो सायद | गाडीले किन अन्य विकल्प नभएको, एउटा मात्र होटेल भएको ठाउँमा लगेर रोक्दो रहेछ भन्ने कुरा राम्रै सँग थाहा पाइयो आज | यात्रीहरुलाई कुनै विकल्प नहोस् ताकी जस्तो पनि खाना खान उनीहरु तयार हुन्छन् भन्ने कुविचार मनमा राखेरै एकान्त ठाउँमा एउटा मात्र भातघर बनाइँदो रहेछ | यस्ता ठाउँहरुमा कसैको ध्यान जाँदैन | सबै आफ्नो आफ्नो क्षणिक स्वार्थ र लूच्छाचुडी मै ब्यस्त छन् | म निरिह छु | हाम्रा नेता निरिह छन् | सबै निरिह निरिह | निरीहता हाम्रो दैनिकी |

    अब सराप्नु बाहेक अरु कुनै उपाय थिएन त्यहाँ | सराप्नु पनि अर्थहीन लाग्यो | मेरी साथीले अन्डा खाइसकेकी थिईन | अब त्यहाँ बसिरहनु आवस्यक थिएन | माँगे जति पैसो दिएर हामी बाहिर निस्कियौँ | त्यो कथा त्यहिँ सकियो |