Aafno Bhogaima

What I have Experienced
  • मलामीको लाममा लासहरु


    सुन्द्रवातीमा मैले खाना खाने घरका पक्वाल बाजे ७२ वर्षको उमेरमा आज मरे | म अहिले मलामीको लाम सँगै पछि पछि दौडिरहेको छु | सयौँ मान्छे दाउरा काँधमा बोकेर लासको पछि पछि दौडिरहेका छन् | मलाई यस्तो लागिरहेछ 'यी सबै आफ्नो सरीर जलाउन आफ्नो चिहानमा एउटा दाउरो थपिरहेका छन् | मलाई लासहरु नै मलामीमा हिडीरहे जस्तो लाग्यो | म आफैँ पनि धेरै हतारिएर हिडीरहेको अनुभूति भयो मलाई | जिन्दगी देखि टाढा, मृत्यु नजिक या जीवनकै नजिक जे भने पनि होला |
    दृश्य अवश्य पनि रहर लाग्दो छैन | रमाइलो छैन | नरमाइलो पनि छैन | शान्त छ | म छिटो छिटो हिडीरहेको छु | मलाई एक्कासी रफ्तार कम गर्न मन लाग्छ | म बिस्तारै हिड्न थाल्छु | कारण, छिटो हिड्दा मृत्युको यात्रा नजिकिन्छ भन्ने डर लाग्यो | म बाँच्न चाहन्छु |
    घटनाले कोहि पनि अचम्मित छैन | सबै सामान्य हो, प्राकृतिक हो | धर्ममा, भगवानले दिएको बाटो |
    मान्छेहरु हिजो पनि उदासिन थिए, आज पनि उदासिन छन् | भोलि त उदासिनता झन् बढ्ने वाला छ किनकी समाज जटिल बन्दैछ र मान्छेहरु व्यक्तिवादी | हाइटीमा भूकम्पले मान्छे मरे | भारतको हवाईजहाज दुर्घटनामा सयौँ मरे | तर मलाई थाहा छ, त्यो भन्दा बढी मलाई मेरो खुट्टाको औंलामा लागेको सानो चोटको चिन्ता छ | म पहिला आफुलाई सोच्छु त्यसपछि मेरो परिवार, गाउँ वा आफन्ती, त्यस पछि छिमेकी जिल्ला, अनि आफ्नु देश | गर्दै जाँदा कुनै अर्को देशको मान्छेको दुख र पीडाले मलाई छुन सम्म नि छुदैन | म अरुको पिडा र भोगाई प्रति उदासिन छु | सबै उदासिन छन् | संसार उदासिन छ |
    म नाटक गर्ने कलाकार | मंचको भूमिका अरुलाई सिकाउँछु | जिन्दगी एउटा रंगमंच हो | मानिस जन्मना साथ जिन्दगीको रंगमंच मा इन्ट्री मार्छ र अभिनय सिध्याएर मंच बाट बाहिरिन्छ | पक्वाल बाजेले पनि जिन्दगीको रंगमंचमा धेरै उकाली ओराली भोगे | जीवनका धेरै अनुभुतिहरुको अभिनय सकेर आज मन्चबाट बाहिरिएका छन् | बाटो हाम्रो पनि त्यहि हो | तर जिन्दगी नाम दिईएको यो मन्चमा रहुन्जेल अभिनय गर्न छोड्नु भएको छैन | धेरै आफ्नो लागि र केहि (थोरै) अरुको लागि यो रंगमंचमा रहुन्जेल बाँच्नु छ, अभिनय गर्नु छ, जसरि पनि |
    मैले आफैले कुनै दिन लेखेको थिएँ "म मृत्यु हेर्न हरेक दिन पशुपती जान्छु तर म त त्यहाँ जीवन भेट्टाउँछु" |
    पक्वाल बा अब केहि क्षणमै खरानी हुँदैछन | उनका सपनाहरु सायद तुहिदै होलान् | साँच्ची सपना पाल्नु पनि बेकार रहेछ जस्तो लाग्दैछ आज मलाई | म हेरिरहेको छु, पक्वाल बालाई घाटमा ल्याउँदा उनले आफु सँग केहि पनि ल्याउन पाएनन् | पक्वाल बाले सजाएका सपना कस्का लागि थिए होलान् ! सायद उनि ठान्थे यी सबै आफ्नै लागि थिए | तर आज उनि सँग सपना छैनन् | रहर छैनन् | उदेश्य छैनन् | पक्वाल बा आज शान्त छन् एकदमै शान्त !!
    उनको आत्माले शान्ती पाओस् !!!

    _______________गोपाल अर्याल______________
    लेखन मिति: २०६७ -०८-१७, सुन्द्रावती, दोलखा