Aafno Bhogaima

What I have Experienced
  • म र काठमाडौँ


    लेख्ने बेलामा सधैँ समस्या आउछ | के लेखौँ के लेखौँ थाहै हुँदैन | त्यसो भन्दा पनि सुरुवात नै थाहा नभएको हो | हुन त कुनै कुराको सुरु र अन्त्य नै हुँदैन जस्तो पनि लाग्छ कहिले काहिँ तै पनि |
    काठमाडौँ धेरैको सपनाको सहर, कसैको तितो भोगाई, कसैको मिठो पनि होला ! भोगाई आ-आफ्नो | काठमाडौँ आएपछि आँफुमा तिब्र परिवर्तन भएको पाउँदैछु म | सकारात्मक या नकारात्मक म आफैले बुझ्न नसक्नु आफैँ बिचरा बन्नु हुनसक्छ तर यथार्त यहि हो | काठमाडौँ आएपछिका धेरै परिवर्तन र मैले भोगेको जीवनलाई मैले "माइन्ड योर हेड" को लागि सुम्पिसकें तर त्यति मात्र प्रशस्त नहुन सक्छ |
    काठमाडौँ छिर्दाको अनुभूति, मनको आशा र सपना जिन्दगीको, डर साहसको, आभाष एक्लोपनाको बिस्तारै सकिदै गएको हो की जस्तो लाग्छ |
    जंगल हो की बस्ति हो मान्छेको छुट्याउनै गाह्रो | आधिक्तम मान्छेहरु व्यक्तिवादी | सायद अब त म पनि |
    अनुभव एक्लो पनाको, अनुभव भोकको, अनुभव लतको, अनुभव सेक्सको, अनुभव प्रेमको, अनुभव धोकाको, अनुभव कलाको, अनुभव कामको, अनुभव फरक संस्कृतिको, अनुभव राजनितिक अवस्थाको, अनुभव अभावको, अनुभव भरिपूर्णताको, अनुभव सुखको, अनुभव दुखको, समुहको, साथीको र सम्बन्धको | अनुभव कति कति काठमाडौँले सिकाएको छ | धन्यवाद काठमाडौँलाई ! कति सोच फराकिला भएका छन् | कतै सायद साँघुरिदै होलान् |
    ठुलो कुरा म किन लेखुँ ? कस्को लागि लेखुँ ? हिजो कुनै सुन्दर केटीकोअगाडी पर्दा पनि रातो पिरो हुने मान्छे म | आज म सँग कुनै स्त्री संगको सम्बन्धमा दुइ शरीर एक बनाएका थुप्रै अनुभव छन्, काठमाडौँले दिएको | बोल्नु, हाँस्नु, हात मिलाउनु, अँगालो मार्नु सबै अब सामान्य भै सके | नाटक सिक्दा र गर्दाका थुप्रै अनुभव |
    कसैले हाँस भन्दा हाँस्नु पर्ने, रो भन्दा रुनु पर्ने | कसरी हाँस्नु, कसरी रुनु, कसैले भन्ने बित्तिकै किन मान्नु ?
    भन्ने सोच मनमा आएर लाज लाग्नु र हाँस्न नसक्नु | कुरा सामान्य हो, जीवनमा को हाँस्दैन, को रुँदैन तर कसैले भनेको भरमा वा कसैको निर्देशनको भरमा हाँस्नु र रुनु आत्मसम्मानपूर्ण होइन भन्ने लाग्दो हो सायद मलाई त्यति खेर जबकी अहिले जीवनलाई त्यसैमा ढाल्नु परिरहेछ |
    व्यक्तिगत सामान अरुलाई छुन पनि नदिने मेरो स्वभाव मेरा साथीहरुले मेरो मोजा चोरी चोरी लगाएर परिवर्तन गरिदिए | यी परिवर्तन सँगै विचार (सोच) मा पनि परिवर्तन हुँदै गयो | विचार फ्यासनको, विचार सेक्सको, विचार राजनीतिको, विचार कलाको, विचार प्रेमको, विचार शैलीको, विचार धर्मको, विचार आस्थाको, विचार विचारको, सबै परिवर्तन भएका छन् |
    २७ चैत्र २०६५, अनामनगर बाट स्वयम्भु बसाईं सराई | कोठा अफिसले दियो | एक बर्षे बसाइ अनामनगरको धेरै उपलब्धिमूलक र केहि अवरोधात्मक, मिश्रित | यहाँ सबै यहुदीहरु बस्छन् | म बाहेक, म आफुलाई हिन्दु भन्छु | आउने आइतबार अरु सत्र जना यहुदीहरु आउने छन्, संसारका विभिन्न ठाउँ बाट | मेरो बसाइ उनीहरु सँगै हुनेछ तर मलाई लाग्छ मलाई एक्लिन समस्या हुने छैन | बिहिबार वा शुक्रबार हामी यात्रामा निस्कने छौँ | शिल्पी नाटक समुहको पुर्वान्चल नाटक यात्रा पन्ध्र दिनको लागि | यात्रा धेरै रमाइलो हुने आशामा छु | त्यसैको लागि कार्यशाला चलिरहेको छ ठमेलमा | सायद फर्किएपछि मात्र कोठा व्यावस्थापनको लागि काम गर्छु होला | यहाँ सर्नुको मेरो एउटा प्रमुख उदेश्य एक्लिन चाहँदा गाह्रो नपरोस् भन्ने हो | मिल्छ भन्ने मा विश्वस्त छु | सपना धेरै छन् | उदेश्य अझै थाहा छैन | भोलि सुन्दर हुनेछ भन्ने मा आशा सबैको हुन्छ | मेरो पनि छ | आशावाद जिदावाद ! भैरव अर्यालको एउटा वाक्य चोरें है 'भोलिवाद जिन्दावाद !!!

    ____________________________गोपाल अर्याल____________________________
    लेखन मिति: २०६५-१२-२७