Aafno Bhogaima

What I have Experienced
  • मनको बहकाउमा


    संसार अनौठो छ | मान्छेहरु अनौठा छन् | कसैलाई मायाको भोक छ | कसैलाई अनौठो सौख छ | मलाई माया गर्ने मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहिँ जीवनसंग जल्ने हरु पनि धेरै भेटें मैले |
    ला....मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केहि पनि थाहा छैन | तर मेरा मन बाट निस्किएका यि शब्दहरु यसै खेर जान्छन कि जस्तो लाग्छ | भोलि पर्सि डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ | "यसको असली मजा त यसैमा छ नि !" जस्तो पनि लाग्छ तर यी पानाहरु कति सिरक्षित रहलान भन्न सकिन्न |
    म दोधार मा छु |
    होइन, दुइटा धार भए पो दोधार त ! यहाँ त अनगिन्ती धारहरु अगाडी तेर्सिएका छन् अब कति धार भन्ने ? धार परिचयको, धार आत्मसम्मानको, धार मायाको, धार धोकाको, धार उदेश्यको, धार प्राप्तिको, धार सम्झनाको, धार कल्पनाको, धार जीवनका कति कति | अब त दोधार नभनेर चौधार भन्दा पनि नमिल्ने पो भएछ |

    सानो छदाँ ढुङ्गै ढुङ्गा भएको खोलाका बगर पुग्दा संसारको सबै भन्दा सुखको ठाउँमा पुगे जस्तो लाग्थ्यो | किन त्यस्तो लाग्थ्यो मालाई थाहा छैन तर मेरो स्मरण शक्तिले भ्याए सम्म मेरो जीवन बगर बाटनै सुरु भएको हो |
    मलाई याद भएको मेरो जीवनको पहिलो घटना, म मेरो बुवाको काँधमा बसेर खोला र बगर पार गर्दाको घटना |
    म कत्रो र कस्तो थिएँ सम्झन्न तर म आँफुले होस् मा बाँचेको पहिलो जीवन त्यहि हो जुन बगरमा सुरु भयो |

    आज त जीवन अर्कै छ | खुशी खोज्न पनि निकै टाढा जानुपर्छ जस्तो | हिजोका ति दिनहरु सम्झेर आनन्द लिनुको मज्जा पनि छुट्टै छ | तिनै सम्बन्धहरु आज आएर एकातिर थन्किएका छन् | नयाँ सम्बन्धहरु बने, टुक्रिए | फेरी बने अनि फेरी टुक्रिए कति कति ! केटाकेटी छदाँ चिउँडोमा बुढी औँला ठोकेर कट्टी गरि छ महिना सम्म नबोलेर, छ महिना पछी दुबैले एक अर्काको नामका अक्षरहरु पालै पालो उच्चारण गरेको भरमा सम्बन्ध फेरी जोडिए जस्तो यी सम्बन्धहरु जोडिंदा रहेनछन् | कति सम्बन्धहरु आफैँ प्रखाल भए, कति सम्बन्धहरुमा अरु कोहि प्रखाल बनेर उभिए | त्यसो त पुल पनि भएहोलान कोहि !

    लेखन मिति: २ अप्रिल २००९, बिहिबार
    काठमाडौँ, नेपाल