Aafno Bhogaima

What I have Experienced
  • म आफैँ भित्र हराउँछु



    म लफुन्गो भएँ, हावा भएँ | मलाई देखेर, मेरो व्यवहारलाई देखेर अचम्म मान्नेहरु आफैँ सँग प्रश्न गर्छन् "यस्तालाई जन्म दिने बाबु आमा कस्ता होलान्न्?" साँच्चै कस्ता होलान् ? मैले जान्दा सम्म मेरो जन्म हुन मा विर्यदान गर्ने मेरो बाबुलाई मैले देखेको छु र चिनेको छु तर जन्म दिने आमा कस्ती होलिन्? मैले पनि चिनेको र देखेको छैन | मान्छेहरु आ-आफ्नै अड्कल लागाउदा हुन् मलाई जन्म दिने आमा बाबुको बारेमा | धन्य भगवान मलाई सोध्दैनन् | सोधेको भए म के जवाफ दिन्थेँ? त्यो भन्दा भावुक र निरिह हुने अर्को अवस्था नहुँदो हो सायद !

    यो बाटो कहाँ जान्छ?
    होइन होला !
    जाम न त |
    म त ढिडो खान्न |
    चुरोट?
    पिउँछु |
    रक्सी?
    पिउँछु |
    कलाकारपो हुँ त |
    जीवन बाँच्नु पर्छ होइन र ?
    खोई...........?
    मर्नु नि !
    मलाई सबले हेला गर्छन् |
    के गर्नु त काखमा बोक्नु ?
    बच्चा हो र?
    लाज लाग्दैन?
    मान्छे त रमाइलै हो |
    अलि बढी हावा |

    मन भने पनि दिमाग भने पनि कहिल्यै कसैको खालि हुँदैन | म कसरी फरक हुनु? जब खोला र जंगलमा हिंड्छु, कविता आउँछ, लेख्न अल्छी लाग्छ | गाडीमा यात्रा गर्दा नाटकको अवधारणा आउँछ, ओर्ले पछि बिर्सिन्छु | दिसा गर्दा समेत रेडियो कार्यक्रमको अवधारणा तयार हुन्छ | योजना तयार गरेर कार्यक्रम चलाउने अठोट चर्पिमै गर्छु, बाहिर आउँछु अर्कै काम अगाडी आइलाग्छ, गर्न थाल्छु | पुराना सबै बिर्सिन्छु | कविता खोलामै मर्छ | नाटक गाडी भित्रै सकिन्छ र नाटककार पनि मर्छ | एउटा होनहार रेडियो कार्यक्रम प्रस्तोता चर्पी भित्रै मर्छ | बाहिर फेरी सपना मात्र हो जीवित हुने | म आम मान्छे हुनुमै चित्त बुझाउँछु |

    __________गोपाल अर्याल_________
    लेखन मिति: २०६६-०७-२८, पात्ले, धादिंग